बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

धनकुटामा यात्रुवाहक सवारीमा टाईम कार्ड प्रणाली लागु

आर्य न्युज / कोशी प्रदेश सम्वाददाता 2606  पटक हेरिएको

देवानगञ्ज। धनकुटा जिल्लामा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनमा टाईम कार्ड प्रणाली लागु गरिएको छ। यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कोशी लोकमार्ग अन्तर्गत भेडेटारदेखि सिधुवा सम्म सञ्चालन हुने सवारी साधनमा यो व्यवस्था लागू गरिएको हो।

सार्वजनिक रूपमा टाईम कार्ड प्रणालीको शुभारम्भ असार १ गते साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा एक कार्यक्रमका बीच सम्पन्न भयो। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल प्रमुख अतिथि रहनु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले टाईम कार्ड प्रणाली लागू भएपछिको सवारी दुर्घटना न्यूनीकरणको विश्वास व्यक्त गर्दै, सवारी चालकहरूले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिनु पर्ने र निर्धारित समयतालिका अनुसार सवारी सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले तिव्र गतिका कारण हुने दुर्घटना नियन्त्रण तथा ट्राफिक व्यवस्थापन सुधार गर्न टाईम कार्ड प्रणाली लागू गरिएको जानकारी दिनुभयो। उहाँले यो प्रणालीलाई प्रभावकारी बनाउन यातायात व्यवसायी, चालक र सहचालक सबैलाई सहकार्य गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई, नेपाली सेना भिम दल गण सल्लेरी ब्यारेकका सेनानी गणेश थापा, सशस्त्र प्रहरी बल छिन्ताङ गुल्मका सप्रनाउ मदन नाथ, राष्ट्रिय अनुसन्धान विभाग धनकुटाका प्रमुख रुद्र बहादुर गुर्बछान, यातायात व्यवसायी, चालक, सहचालक तथा स्थानीयको उपस्थिति रहेको थियो।

सवारी सुरक्षा र अनुशासित यातायात व्यवस्थापनतर्फ टाईम कार्ड प्रणाली एक प्रभावकारी कदमको रूपमा लिइएको छ। धनकुटामा यसको सफल कार्यान्वयनले अन्य जिल्लाहरूका लागि पनि उदाहरणीय हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२५-०६-१५ , समय : २२:५५:४० , ३ हप्ता अगाडि

error: Content is protected !!