विराटनगर । विराटनगर महानगरपालिका मेयर नागेश कोइराला हाल इजरायलको एक सुरक्षात्मक बंकरमा बसेका छन्। इजरायल–इरानबीचको पछिल्लो सैन्य तनावपछि मेयर कोइरालासहित विभिन्न देशका जनप्रतिनिधिहरूलाई सुरक्षाका लागि बंकरमा राखिएको हो।
विराटनगरका मेयर कोइरालासहित विभिन्न देशका जनप्रतिनिधिहरूलाई इजरायल भ्रमणमा रहेका छन्।
सहकारी अभ्यास अध्ययन गर्न इजरायल पुगेका कोइरालाले आफू राजधानी तेल अभिभदेखि ३० किलोमिटर टाढा पर्ने सेफाइम सहरमा सुरक्षित रहेको जानकारी दिएका छन्। उनले फोनमार्फत जानकारी दिँदै भने, “इजरायलको सहकारी अभ्यासबारे अध्ययन गर्न आएका हौं। अहिले परिस्थितिको कारण सरकारले बंकरमा राखेको छ।”
टोलीमा फिलिपिन्सका दुई सांसदसहित १७ जना जनप्रतिनिधि रहेको मेयर कोइरालाले बताए। इजरायलले हालै इरानमाथि आक्रमण गरेपछि सुरु भएको प्रत्याक्रमणको असरस्वरूप इरानले जेरूसलेम, तेल अभिभ लगायतका क्षेत्रमा मिसाइल र रकेट प्रहार गरिरहेको छ। त्यसको प्रभावमा विभिन्न देशका प्रतिनिधिहरू पनि परेका छन्।
इजरायल सरकारले आपतकाल घोषणा गर्दै विमानस्थलहरू बन्द गरिसकेको छ। यस्तो अवस्थामा मेयर कोइरालाको नेपाल फर्कने तय मिति असार ६ गते अनिश्चित बनेको छ।
“सामान्य अवस्थामा बाहिर जान पाइन्छ, तर खतराको संकेत दिने साइरन बज्नेबित्तिकै तुरुन्त बंकरमा जानुपर्ने नियम छ,” कोइरालाले भने।
इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले मेयर कोइरालासहितको टोलीलाई भेटेर अवस्थाबारे जानकारी लिएका छन्। साथै, कोइरालाले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग समेत टेलिफोन संवाद गरेका छन्।
सहकारी प्रणाली अध्ययनका लागि इजरायल पुगेको भ्रमण टोली अचानक तनावको चपेटामा परेपछि सुरक्षा चुनौती मुख्य विषय बनेको छ। भ्रमण प्रभावित भए पनि सबै प्रतिनिधिहरू हालसम्म सुरक्षित रहेको जानकारी प्राप्त भएको छ।
प्रकाशित मिति: २०२५-०६-१५ , समय : २२:३८:२९ , ८ महिना अगाडि