बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटनामा ७ जनाको मृत्यु, एक बालक पनि परे मृतकमा

आर्य न्युज 3128  पटक हेरिएको

देवानगञ्ज ।भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल केदारनाथ जाँदै गरेको एक हेलिकप्टर आज बिहान दुर्घटनाग्रस्त हुँदा सात जनाको ज्यान गएको छ। दुर्घटनामा एक बालकसहित सबै यात्रुहरूको मृत्यु भएको पुष्टि गरिएको छ।

देहरादूनबाट उडेको आर्यन कम्पनीको हेलिकप्टर गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना भएको हो। प्रारम्भिक विवरणअनुसार खराब मौसमकै कारण दुर्घटना भएको आशंका गरिएको छ। हेलिकप्टरमा चालकसहित सात जना सवार थिए।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले एक्स (पूर्व ट्विटर) मार्फत घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले लेखेका छन्, “रुद्रप्रयाग जिल्लामा भएको हेलिकप्टर दुर्घटनाको खबर अत्यन्त दुःखद छ। उद्धार कार्यमा एसडीआरएफ र स्थानीय प्रशासन परिचालन भइसकेको छ।”

भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाको जानकारी सबैभन्दा पहिला नेपाली मूलका महिलाहरूले दिएका थिए। ती महिला दुर्घटनाको समयमा गौरीकुण्डमाथि घाँस काटिरहेका थिए। हेलिकप्टर दुर्घटनाको दृश्य देखेपछि उनीहरूले तुरुन्तै प्रहरीलाई फोनमार्फत सूचना दिएका थिए।

दुर्घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ। मृतकहरूको पहिचान खुलाइएको छैन भने उनीहरूका शवहरू उठाएर पोष्टमार्टमका लागि पठाइएको बताइएको छ।

प्रकाशित मिति: २०२५-०६-१५ , समय : ०९:४५:५३ , ३ हप्ता अगाडि

error: Content is protected !!