
सुनसरी। लगातारको वर्षाका कारण देशका विभिन्न स्थानका नदी तथा खोलाहरूमा पानीको सतह बढ्न थालेको छ। धनकुटाको मछुवाघाटअन्तर्गत कोशी नदी र सिन्धुलीको रानीचुरीअन्तर्गत कमला नदीमा पानीको सतह खतराको तह नाघिसकेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाले हाल देशका केही भूभागमा मध्यमदेखि ठूलो वर्षा भइरहेको जनाउँदै नदी तथा खोलातटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। विशेषगरी बाढी तथा डुबानको जोखिम बढी हुने स्थानहरूमा पूर्वतयारी तथा आवश्यक सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
महाशाखाका अनुसार मकवानपुरको हेटौंडा र रजैया क्षेत्र, धनुषाको चिसापानी आसपास, बारा र रौतहटको रजुवा तथा चन्द्रपुर क्षेत्रका खोलाहरूमा समेत पानीको सतह बढ्न सक्ने देखिएकाले ती क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन भनिएको छ।
स्थानीय प्रशासन र सरोकारवाला निकायहरूलाई जोखिमयुक्त क्षेत्रका बासिन्दालाई पूर्वसूचना उपलब्ध गराई सुरक्षित स्थानमा सार्नुपर्ने आवश्यकता औँल्याइएको छ। बाढीको सम्भावित प्रभावलाई ध्यानमा राख्दै आपतकालीन तयारी र उद्धार संयन्त्र सक्रिय अवस्थामा राख्न महाशाखाले सुझाव दिएको छ।
प्रकाशित मिति: २०२५-०६-१५ , समय : ०८:५३:४७ , ३ हप्ता अगाडि