
काठमाडौं। इजरायल र इरानबीचको सैन्य तनाव नयाँ चरणमा प्रवेश गरेको छ। इजरायली रक्षा बल (IDF) ले इरानको राजधानी तेहरानमा रहेको सैन्य संरचनामाथि हवाई आक्रमण गरिरहेको जनाएको छ।
इजरायलले आक्रमणसँगै आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्दै अलार्म बज्नेबित्तिकै सुरक्षित स्थानमा जान निर्देशन दिएको छ। इरानबाट प्रहार गरिएका मिसाइलहरू रोक्न हवाई सुरक्षा प्रणाली सक्रिय गरिएको रक्षा बलले जनाएको छ।
उता, इरानी सरकारी टेलिभिजनले “ट्रु प्रमिस” नाम दिइएको अभियानअन्तर्गत दोस्रो चरणमा इजरायलतर्फ १०० वटा मिसाइल प्रहार गरिएको दाबी गरेको छ।
दुवै पक्षबाट लगातार आक्रमण र प्रतिआक्रमण भइरहेकाले स्थिति अत्यन्त तनावपूर्ण बन्दै गएको बीबीसीले जनाएको छ।
क्षेत्रीय स्थायित्वमा गम्भीर चुनौती खडा गरेको यो द्वन्द्वले मध्यपूर्वमा थप अस्थिरता ल्याउने संकेत देखिएको छ। अन्तर्राष्ट्रिय समुदायले संयम अपनाउन आग्रह गरिरहेको भए पनि हालसम्म कुनै शान्ति प्रयास सफल भएको देखिँदैन।
प्रकाशित मिति: २०२५-०६-१५ , समय : ०७:०९:४६ , ३ हप्ता अगाडि