बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

देवानगञ्जको सराहनीय पहल – कीटजन्य रोग नियन्त्रणमा सामुदायिक जागरण

राजीव कुशवाहा 2471  पटक हेरिएको

देवानगञ्ज । गर्मीयाम र वर्षायामको सुरुआतसँगै कीटजन्य रोगहरूको सम्भावित जोखिम बढ्दै गएको अवस्थामा देवानगञ्ज गाउँपालिकाले रोग नियन्त्रण तथा रोकथामका लागि लक्षित गर्दै एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षा निकाय, शिक्षक, किसान, व्यापारी तथा विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचनप्रसाद मेहता सहभागी हुनुहुन्थ्यो। अध्यक्ष मेहताले कीटजन्य रोग नियन्त्रणलाई पालिकाको प्राथमिकता सूचीमा राखिएको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई नियमित सञ्चालन गरिने स्पष्ट गर्नुभयो। उहाँले भन्नुभयो, “गर्मी र वर्षायाम लामखुट्टे, फट्यांग्राजस्ता कीरा सक्रिय हुने समय हो, जसका कारण डेङ्गु, मलेरिया, चिकुनगुन्या, जापानिज इन्सेफालाइटिसजस्ता रोगहरू फैलिने सम्भावना अत्यधिक हुन्छ। तसर्थ, समुदायस्तरमै सचेतना फैलाउने अभियान आवश्यक छ।”

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी, स्वास्थ्य शाखा प्रमुख कृत्यानन्द यादव, जनस्वास्थ्य निरीक्षक गणेश यादव, वडा नं. ४ का अध्यक्ष सुशील मेहता, वडा नं. ६ का अध्यक्ष हरिनन्दन मेहता, वडा नं. ७ का अध्यक्ष सूर्यनारायण यादव, ईलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक कमल विष्ट, सशस्त्र प्रहरी बल, कप्तानगञ्जका नायब निरीक्षक रामजी खत्रीलगायत स्थानीय शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, व्यापारी तथा किसानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य भागमा स्वास्थ्य शाखा प्रमुख कृत्यानन्द यादवले कीटजन्य रोग कसरी सर्छ, के–कस्ता कीटहरूबाट रोग फैलिन्छन्, र तिनबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा पावरपोइन्ट प्रस्तुति दिएर सहभागीहरूलाई प्राविधिक जानकारी गराउनुभयो। उहाँका अनुसार, “लामखुट्टेहरू केवल रातमा मात्र होइन, दिनको समयमा पनि सक्रिय हुने हुँदा विशेष सावधानी आवश्यक हुन्छ। विशेषगरी डेङ्गु सर्ने लामखुट्टे प्रायः बिहान र दिउँसो सक्रिय हुने भएकाले त्यसप्रति सचेत हुनु जरुरी छ।”

कार्यक्रममा सहभागीहरूलाई लामखुट्टेबाट बच्न झुलको प्रयोग, पानी जम्न नदिनु, वरपर सरसफाइमा ध्यान दिनु, नियमित रूपमा कीटनाशक औषधिको प्रयोग गर्नु र समुदायस्तरमै सतर्कता कायम गर्नुजस्ता व्यवहारिक उपायहरू अपनाउन अनुरोध गरियो।

ईलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक कमल विष्टले प्रहरी प्रशासन सामुदायिक सुरक्षासँगै जनस्वास्थ्यप्रति पनि जिम्मेवार रहेको बताउँदै यस्ता अभियानमा पूर्ण सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो। “जनस्वास्थ्य सुदृढ भए मात्रै समाज सुरक्षित हुन्छ, त्यसैले प्रहरी प्रशासन जनचेतना अभियानमा सहयोग गर्न तत्पर छ,” उहाँले भन्नुभयो।

यस्तै, वडा नं. ६ का अध्यक्ष हरिनन्दन मेहताले वडा तहमा समेत यस्ता कार्यक्रमको आवश्यकता रहेको उल्लेख गर्दै गाउँगाउँमा स्वास्थ्य चेतना पुर्याउने योजनाबद्ध कार्ययोजना अघि बढाउने जानकारी दिनुभयो। वडा नं. ७ का अध्यक्ष सूर्यनारायण यादवले रोग लागेपछि उपचार भन्दा रोग नलाग्न सचेतना फैलाउनु बढी महत्वपूर्ण हुने धारणा राख्नुभयो।

कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष मेहताले देवानगञ्जका सबै वडामा क्रमिक रूपमा यस्ता अभिमुखीकरण कार्यक्रम विस्तार गरिने र जनस्वास्थ्य सुधारका लागि सामूहिक सहभागिता अपरिहार्य रहेको धारणा राख्नुभयो।

कार्यक्रममा सहभागी अधिकांशले आ–आफ्नो क्षेत्र र पेशाबाट कीटजन्य रोग नियन्त्रणमा योगदान पुर्याउने प्रतिबद्धता जनाएका छन्। स्थानीय समुदायको सक्रिय सहभागिता र संस्थागत समन्वयले यस्ता अभियानहरूलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

स्वास्थ्यकर्मीहरूको भनाइ अनुसार, हरेक वर्ष गर्मीयाम र वर्षायाममा कीटजन्य रोगको जोखिम उच्च हुने गर्छ। खासगरी सफाइको अभाव, खुला पानी जम्ने अवस्था, जनचेतनाको कमी र कीटनाशक प्रयोगमा कमजोरीका कारण यस्ता रोगहरूको प्रकोप फैलिने सम्भावना रहन्छ। त्यसैले देवानगञ्जमा सुरु भएको यो सचेतना अभियान आगामी दिनमा रोग नियन्त्रणमा सहायक हुने विश्वास गरिएको छ।

प्रकाशित मिति: २०२५-०६-१४ , समय : २२:१३:४३ , ३ हप्ता अगाडि

error: Content is protected !!