बि.स. : २०८२ माघ २६, सोमबार

इनरुवामा अन्तरविद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

गणेश कुमार यादव /सुनसरी 6433  पटक हेरिएको

इनरुवा। सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा गरिएको हो।

प्रतियोगितामा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा ब्राइट फ्युचर इङ्लिश स्कूल, इटहरीकी छात्रा निसुम मधेन प्रथम स्थान हासिल गर्न सफल भइन्। त्यस्तै, सुविधा स्कूल, बराहक्षेत्रका एलिश कटवाल दोस्रो तथा निर्मला मेमोरियल स्कूल, इनरुवाकी प्रचिद्ध आचार्य तेस्रो स्थानमा रहिन्। सुनसरी स्टार एकेडेमी, बराहक्षेत्रकी दिव्या मलाहा ले सान्त्वना स्थान प्राप्त गरिन्।

विजयी विद्यार्थीहरूलाई प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकाल लगायतका विशिष्ट अतिथिहरूको संयुक्त उपस्थितिमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

चित्रकला प्रतियोगिताको निर्णायक मण्डलमा जीवनाथ पोखरेल, भीम अधिकारी र गोपाल निरौला रहेका थिए।

 

कार्यक्रम संयोजन इनरुवा नगर प्याब्सनका अध्यक्ष रमेश प्रसाद गुरागाईंले गरेका थिए। अध्यक्ष गुरागाईंले प्रतियोगिताले विद्यार्थीहरूमा सिर्जनात्मक प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै भविष्यका कलाकारहरूलाई हौसला दिएको बताए।

त्यस्तै, प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको अध्यक्षता प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालले गरेका थिए। प्रमुख अतिथि प्रदेश सभा सदस्य इस्राइल मन्सुरी (सुनसरी क्षेत्र नं. ४ ख) रहेका थिए भने विशिष्ट अतिथिमा विष्णु कोइराला, नीरज ढकाल, देवनारायण ढकाल, विष्णु सिटौला र मनोज कुमार यादव लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सुनसरीका विभिन्न पालिकाबाट आएका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०२५-०६-१४ , समय : १४:०८:३५ , ८ महिना अगाडि

error: Content is protected !!