
देवानगञ्ज । भारतको अहमदावादमा बिहीबार भएको भीषण विमान दुर्घटनामा २४१ जनाले ज्यान गुमाएका छन्। एयर इन्डियाको लण्डनतर्फ उडेको बोइङ ७८७–८ विमान दुर्घटनामा परेको पुष्टि स्वयं विमान कम्पनीले सामाजिक सञ्जालमार्फत् गरेको हो।
टाटा कम्पनीको स्वामित्वमा रहेको एयर इन्डियाको उक्त विमान भारतीय समयअनुसार दिउँसो २:३८ बजे अहमदावादबाट बेलायतको लण्डनतर्फ उडेपछि २:४० मा दुर्घटनामा परेको थियो।
दुर्घटनामा विमानमा रहेका २३० यात्रु र १२ जना चालक दलका सदस्यमध्ये २४१ जनाको मृत्यु भएको छ। एक मात्र यात्रु भने सकुशल बच्न सफल भएका छन्।
भारतीय गृहमन्त्री अमित शाहले दुर्घटनास्थलको अवलोकनपछि पत्रकारहरूलाई जानकारी दिँदै २४२ यात्रुमध्ये एक मात्र व्यक्ति जीवित रहेको पुष्टि गरेका छन्।
उक्त एकमात्र जीवित यात्रु भारतीय मूलका बेलायती नागरिक रमेश विश्वास कुमार हुन्। गुजरातनजिकैको केन्द्रशासित प्रदेश दीवका बासिन्दा कुमारले विमान हल्लिएपछि ठूलो आवाजसहित बजारिएको र त्यसपछि आफूलाई केही मानिसले उद्धार गरेर एम्बुलेन्समार्फत अस्पताल पुर्याएको बताएका छन्। हाल उनको उपचार जारी रहेको भारतीय प्रहरीले जानकारी दिएको छ।
घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको भारतीय उड्डयन अधिकारीहरूले बताएका छन्। दुर्घटनाको कारण अझै स्पष्ट भइसकेको छैन भने प्रारम्भिक रिपोर्ट अनुसार प्रविधिमा समस्या देखिएको अनुमान गरिएको छ।
दुर्घटनाले भारत र अन्तर्राष्ट्रिय विमान यात्रु सुरक्षामा गम्भीर प्रश्न उठाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत् दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।
प्रकाशित मिति: २०२५-०६-१३ , समय : ०९:०५:१४ , ३ हप्ता अगाडि