बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

अत्यधिक गर्मीका कारण विराटनगर सहित कोशीका अन्य पालिकाहरूको विद्यालय बन्द

आर्य न्युज / कोशी प्रदेश सम्वाददाता 2716  पटक हेरिएको

विराटनगर। पछिल्ला दिनमा परेको अत्यधिक गर्मीका कारण विराटनगर महानगरपालिका अन्तर्गतका विद्यालयहरू तीन दिनका लागि बन्द गरिएका छन्। गर्मीको चपेटामा परेका विद्यार्थीहरू विद्यालय पुग्न कठिन भएपछि अभिभावकहरूको मागलाई सम्बोधन गर्दै यस्तो निर्णय गरिएको हो।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत रामप्रसाद ढुंगेलले अत्यधिक तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा जोखिम बढ्ने सम्भावनालाई ध्यानमा राख्दै विद्यालय बन्द गरिएको जानकारी दिए। उनका अनुसार यदि निकट दिनहरूमा वर्षा भएर मौसम अनुकूल भएमा विद्यालय पुनः सञ्चालनमा ल्याइने छ।

“गर्मीका कारण साना बालबालिका प्रभावित हुन सक्ने भएकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय लिइएको हो,” ढुंगेलले बताए।

विराटनगर मात्र नभई कोशी प्रदेशका अन्य तराई क्षेत्रका स्थानीय तहहरूले समेत यस्तै निर्णय लिएका छन्। इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका लगायतका स्थानमा पनि विद्यालयहरू बन्द गरिएका छन्। कोशी प्रदेशको तराई भूभागमा लगातार बढिरहेको तापक्रमले गर्दा विद्यार्थीहरूलाई स्वास्थ्य जोखिमबाट जोगाउन विद्यालय बन्द गर्नु परेको स्थानीय तहहरूको भनाइ छ।

बालबालिकामा डिहाइड्रेशन, चक्कर लाग्ने, ज्वरो आउने लगायतका लक्षण देखिन थालेपछि अभिभावकहरू चिन्तित बनेका थिए। यसैबीच स्वास्थ्यकर्मीहरूले बालबालिकालाई दिनभर पानी पिउन आग्रह गर्दै अत्यावश्यक नभएसम्म घर बाहिर ननिस्कन सुझाव दिएका छन्।

कोशी प्रदेशको अधिकांश तराई क्षेत्र अहिले ४० डिग्री सेल्सियस आसपासको तापक्रमको सामना गरिरहेको छ। मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म मौसम यस्तै रहने अनुमान छ।

प्रकाशित मिति: २०२५-०६-११ , समय : १२:०२:१० , ३ हप्ता अगाडि

error: Content is protected !!