
काठमाडौं । हाल देशको पश्चिम र मध्य क्षेत्रहरूमा पश्चिमी र स्थानीय वायुले प्रभाव जमाइरहेका छन् भने कोशी प्रदेशमा भने मनसुनजन्य वायुको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिएको पछिल्लो जानकारीअनुसार देशका पहाडी भू–भागहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ।
दिउँसोको समयमा कोशी र लुम्बिनी प्रदेश सहित अधिकांश पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रहरूमा आकाश प्रायः खुला रहने अनुमान गरिएको छ। कोशी प्रदेश लगायतका केही पहाडी स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै, उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात पनि हुन सक्ने विभागको भनाइ छ।
रातिको समय पनि केही फरक छैन। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्यत्र मौसम खुलेको रहने अनुमान छ। ती क्षेत्रहरूमा समेत मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना कायम छ।
गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भू–भागमा पनि हल्का वर्षा वा हिमपात हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसमको यस्तो अवस्था दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, सडक यातायात र हवाई उडानहरूमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले नागरिकहरूलाई अनुरोध गरेको छ।
सुझाव: यात्रा गर्नुअघि मौसमको पूर्वानुमान हेर्नुहोस्, खेतबारीका काम योजना अनुसार मिलाउनुहोस्, र आकस्मिक अवस्थामा सुरक्षित बस्न आवश्यक तयारी गर्न नभुल्नुस्।
प्रकाशित मिति: २०२५-०६-१० , समय : १०:१४:१७ , ४ हप्ता अगाडि