
नेपालको क्रिकेट यात्रा आज फेरि एक मोडमा आइपुगेको छ। विश्वकप लिग–२ अन्तर्गतको चौथो श्रृङ्खलाको अन्तिम खेलमा आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ। खेल स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल मैदानमा हुनेछ, जसको पहिलो बल नेपाली समय अनुसार पौने ४ बजे फ्याँकिनेछ।
यो श्रृङ्खलामा नेपालका लागि उतारचढावले भरिएको प्रदर्शन देखिएको छ। शुरुआत धमाकेदार — स्कटल्याण्डमाथि एक विकेटको रोमाञ्चक जित। त्यसपछि नेदरल्यान्ड्समाथि पाँच विकेटको सानदार जित। तर तेस्रो खेलमा स्कटल्याण्डसँग केवल दुई रनले हार — नेपाली समर्थकको मुहारमा थोरै निराशा, तर आशा भने कायमै।
अहिलेसम्म नेपाल र नेदरल्यान्ड्सबीच ६ एकदिवसीय खेल भएका छन्, जसमा ३–३ को बराबरी छ। आजको खेल त्यस बराबरीलाई तोड्ने निर्णायक लडाइँ हुनेछ।
अंकतालिकाको तस्वीर हेर्दा, नेदरल्यान्ड्स बलियो देखिन्छ — २२ खेलमा १२ जितसहित २६ अङ्क, र तालिकाको दोस्रो स्थान। नेपाल भने १५ खेल खेलिसकेको छ, जसमा ४ जित र १० अङ्कसहित सातौं स्थानमा संघर्षरत छ।
आजको खेल नेपालका लागि न केवल प्रतिष्ठाको लडाइँ हो, यो आत्मविश्वास फिर्ता ल्याउने अवसर पनि हो। जीत सम्भव छ — अघिल्लो पटक नेदरल्यान्ड्सलाई हराएकै हो। अब दोहोर्याउने हो कि नतिजा उल्टिने हो? — फैसला आजको मैदानले गर्नेछ।
प्रकाशित मिति: २०२५-०६-१० , समय : ०८:५५:५८ , ४ हप्ता अगाडि