बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

कोइरालाको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्तिमा कांग्रेस किन मौन?

आर्य न्युज / कोशी प्रदेश सम्वाददाता 3357  पटक हेरिएको

विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति कांग्रेस नेतृत्वले आधिकारिक धारणा नबोल्नुप्रति आपत्ति जनाएका छन्।

नेपाल नाई संघको ३५औं राष्ट्रिय सम्मेलनको मंगलबार विराटनगरमा उद्घाटनपछि बोल्दै उनले जेठ १५ गते राजधानी काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई गम्भीर रूपमा लिनुपर्ने बताएका हुन्।

“प्रधानमन्त्री व्यक्ति मात्रै होइन, त्यो संस्था पनि हो। उनले बोलेको हरेक कुराले अर्थ राख्छ,” कोइरालाले भने, “प्रधानमन्त्रीले जस्तोसुकै भाषा प्रयोग गरे पनि कांग्रेसले चुप लागिरहनुपर्ने बाध्यता आयो र?”

राजावादी समूहले आन्दोलनको घोषणा गरेको दिन प्रधानमन्त्रीले राजधानी आफ्नो पार्टीको कब्जामा ल्याउनुपर्ने अभिव्यक्ति दिएको भन्दै उनले त्यसप्रति कांग्रेसको स्पष्ट धारणा आउनु आवश्यक रहेको बताए।

उनले कांग्रेसले पछिल्लो समय आफ्नो सैद्धान्तिक मौलिकता बिर्संदै गएको भन्दै चिन्ता व्यक्त गरे। “प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर कांग्रेस नेतृत्व मौन बस्नु दु:खद हो,” उनले भने।

त्यसैगरी उनले सभापति शेरबहादुर देउवाको निवासमा भएको पदाधिकारी बैठक आफ्नो विषयमा मात्र केन्द्रित भएकोप्रति असन्तुष्टि जनाए। “मलाई लागेको थियो, प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल हुनेछ। तर बैठक त मेरै विषयमा केन्द्रित रहेछ भन्ने सुन्दा अचम्म लाग्यो,” कोइरालाले टिप्पणी गरे।

कोइरालाले मुलुक संवेदनशील मोडमा पुगेको उल्लेख गर्दै यस्तो बेला कांग्रेसले सशक्त र स्पष्ट धारणा लिनुपर्ने धारणा राखे।

प्रकाशित मिति: २०२५-०५-२८ , समय : ०७:००:०३ , १ महिना अगाडि

error: Content is protected !!