बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

सूचीकृत नभएका बीउको बिक्रीमा कडाइ, कोशीका किसान ठगिएपछि मन्त्रालय सक्रिय

आर्य न्युज / कोशी प्रदेश सम्वाददाता 3769  पटक हेरिएको

देवानगञ्ज । कोशी प्रदेशका किसानहरू सूचीकृत तथा दर्ता नभएका धानका जात र अन्य बालीका बीउ किनेर ठगिएको गुनासो तीव्र बनेपछि प्रदेश सरकार कडाइका साथ निगरानीमा उत्रिएको छ। विभिन्न जिल्लामा अनियमित रूपमा बीउ बिक्री वितरण भइरहेको पाइएपछि कृषि मन्त्रालयले अनुगमन तीव्र बनाएको हो।

प्रदेशका कृषि मन्त्री खगेन्द्र सिंह हाङगामले कार्यभार सम्हालेसँगै बीउ विजनसम्बन्धी ऐन तथा नियमको कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार सचिव शरण कुमार पाण्डेको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको थियो।

समितिमा झुम्कास्थित बीउ विजन प्रयोगशाला, ज्ञान केन्द्र, वाली विकास अधिकृत योगेन्द्र यादव र बीउ निरीक्षक पुरुषोत्तम जोशी सहभागी थिए। टोलीले इनरुवा, कोशी गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा बीउ पसलहरूको स्थलगत निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा कतिपय पसलले अनुमति नलिइकनै बीउ बिक्री गरिरहेको पाइयो भने केहीले अनुमति पत्र नविकरण नगरेको तथ्य फेला परेको छ। जानकारी पाउने बित्तिकै केही पसलहरू बन्द गरिएका थिए। कोशी गाउँपालिकामा एक पसल अनुमति विना सञ्चालनमा रहेको भेटिएको छ। यस्तै, भोक्राहा नरसिंह गाउँपालिकामा बन्द गरिएका पसलहरूको बाहिर सूचित नभएको बीउ भेटिएपछि ती बीउ स्थानीय वडाध्यक्षको जिम्मामा जफत गरिएको छ।

साथै, इटहरीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले बीउ व्यवसाय प्रमाणपत्र नभएका व्यापारीलाई पनि धानको बीउ उपलब्ध गराएको पाइएपछि मन्त्रालयको ध्यान सोतर्फ केन्द्रित भएको छ।

अनुगमन टोलीका अनुसार, बिना अनुमति कारोबार भइरहेका स्थानहरूमा कोशी गाउँपालिका, इनरुवा र भोक्राहा नरसिंह गाउँपालिका गरी सात स्थान रहेका छन्। मन्त्रालयले अब नियमविपरीत क्रियाकलापमा संलग्नहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाउने स्पष्ट पारेको छ।

किसानहरूलाई भ्रममा पार्दै अवैध रूपमा बीउ बिक्री गर्नेहरूको नियन्त्रका लागि थप कठोर कदम चालिने मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति: २०२५-०५-२४ , समय : ०९:०५:०७ , १ महिना अगाडि

error: Content is protected !!