बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

शल्यक्रियाबाट जीवनमा अँध्यारो : जनकपुरको मुस्कान अस्पतालमा ‘पविता’ हराइन, न्यायको उज्यालो अझै देखिएको छैन

आर्य न्युज / मधेस प्रदेश सम्वाददाता 2985  पटक हेरिएको

जनकपुरधाम। तीन महिनाअघि सर्लाहीकी पविता यादव जनकपुरधामको एउटा अस्पताल पुगेकी थिइन्—उपचारका लागि। पेट दुखिरहेको थियो, डाक्टरले पित्तथैलीको पत्थरी भएको बताए। “सामान्य शल्यक्रिया हो, डराउनु पर्दैन,” भन्ने आश्वासनसहित उनलाई शल्यक्रिया कक्षमा पुर्‍याइयो।

तर त्यो दिनबाट आजसम्म उनले न आँखा खोलिन्, न आवाज निकालिन्।

चार महिनासम्म होस नफर्किएकी पविताको जीवन अहिले काठमाडौंको एक अस्पतालको आइसीयूमा स्थिर छ—तर शून्य अपेक्षासहित। उनी होशमा फर्किनेछिन् कि फर्किँदैनन्—यो प्रश्नको उत्तर डाक्टरहरूसँग पनि छैन।

पविताका बुबा ब्रह्मदेव यादव भन्छन्, “छोरी उपचारका लागि गएकी थिई, तर त्यो दिनदेखि उनले हामीलाई एकपटक पनि हेरेकी छैनन्। हामीले अस्पतालमाथि विश्वास ग¥यौँ, तर तिनले हाम्रो विश्वासमा धोका दिए।”

ब्रह्मदेवले १ जेठमा धनुषा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराए। जाहेरीमा जनकपुर उपमहानगरपालिका–१४ स्थित दर्ता नभएको मुस्कान अस्पताल, त्यसका सञ्चालक, शल्यक्रिया गर्ने डा. ज्ञानकुमार साह, एनेस्थेसिया सहयोगी र सूर्या अल्ट्रासाउन्डका सञ्चालक सुशील यादवलाई उपचारमा गम्भीर लापरवाही गरेको आरोप छ।

जाहेरीअनुसार शल्यक्रियापछि पविता बेहोस भइन्। भोलिपल्ट सिटी स्क्यान गरियो, तर रिपोर्ट हेर्नुपर्ने डाक्टर नै अस्पतालमा थिएनन्। उपचार गर्नुपर्ने बेलामा समय बिताइयो। त्यो लापरवाहीकै मूल्य पविता र उनका परिवारले जीवनभर तिर्नुपर्ने अवस्था आएको छ।

त्यसपछि जानकी हेल्थ केयर हुँदै काठमाडौंको केएमसी अस्पतालसम्मको यात्रा भयो—एम्बुलेन्समा अचेत पवितासँगै बुबा, पति र आशुको भारी बोकेर।

पति अंगेश यादव भन्छन्, “तीन लाखको काम भनेर मुस्कानमा गएका थियौँ, अहिले ३० लाखभन्दा बढी सकियो। ऋण, धितो, सबै सकियो—अब बाँकी छ त केवल उसको जीवन।”

अस्पतालको नाम मुस्कान थियो, तर मुस्कान पविता र उनको परिवारबाट सधैँका लागि हरायो।

यो घटना बाहिरिएपछि मधेशका आठ जिल्लामा सयभन्दा बढी अवैध स्वास्थ्य संस्था बन्द गरिएका छन्। तर जसको कारण एक महिलाको जीवन उजाडियो—त्यो मुस्कान अस्पताल अझै उस्तै बेफिक्रीसँग बाँचेको छ। न त अस्पतालले उपचार खर्च व्यहोरेको छ, न त सञ्चालक सम्पर्कमा छन्।

धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मी भन्छन्, “घटना जटिल छ। अध्ययन भइरहेको छ, मेडिकल काउन्सिलसँग पनि समन्वय गरिँदैछ।” तर पविताको बुबा ब्रह्मदेवको आँखा भने ‘न्याय कहिले आउला’ भन्ने पर्खाइमा ओइलिएको छ।

“चार दिन भयो जाहेरी दिएको। अपराधीहरू अझै स्वतन्त्र छन्। अब हामीलाई राज्यले हेर्ने कि नहेर्ने?” उनका शब्दहरूमा आक्रोशभन्दा बढी पीडा छ।

यो घटना पविता यादवको मात्र हैन—यो सम्पूर्ण स्वास्थ्य प्रणालीमा व्याप्त लापरवाही, उत्तरदायित्वको अभाव र गरिब जनताको पीडाको प्रतिनिधि बनेको छ। न्याय अझै टाढा छ।

प्रकाशित मिति: २०२५-०५-२२ , समय : ०७:४३:१० , २ महिना अगाडि

error: Content is protected !!