
देवानगञ्ज । देशमा अहिले पश्चिमी वायु, स्थानीय वायुसँगै बङ्गालको खाडी र अरब सागरबाट प्रवेश गरेका जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ। यसका कारण अधिकांश भागमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। अन्य क्षेत्रका एक–दुई स्थानमा पनि यस्तै खालको मौसम देखिने अनुमान गरिएको छ।
यसका साथै, उच्च पहाडी र हिमाली भेगमा वर्षासँगै हल्का हिमपात पनि हुन सक्ने सम्भावना रहेको छ। राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भागहरूमा चट्याङसहित वर्षा र केही क्षेत्रमा हिमपातको पूर्वानुमान गरिएको छ।
मौसमी परिस्थितिले जनजीवन, कृषि, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा असर पुर्याउन सक्ने भएकाले महाशाखाले सतर्क रहन सबैलाई आग्रह गरेको छ।
प्रकाशित मिति: २०२५-०५-२२ , समय : ०७:११:१५ , १ महिना अगाडि