बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

विश्वको सर्वोच्च शिखरमा प्रहरी सहायक निरीक्षक कुन्जाङ शेर्पा

Aarya News Desk 2578  पटक हेरिएको

विराटनगर। नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ। उहाँले २०८२ साल जेष्ठ ५ गते बिहान ८:५६ बजे सगरमाथाको चुचुरोमा पुगेर नेपाल र नेपाल प्रहरीको झण्डा फहराउनुभएको हो।

सोलुखुम्बु जिल्लाको थुलुङ दुधकुण्ड गाउँपालिका–९ स्थायी घर भएकी शेर्पा हाल नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोमा कार्यरत हुनुहुन्छ। अत्यन्त कठिन, जोखिमपूर्ण र चुनौतीपूर्ण सगरमाथा यात्रामा साहसपूर्वक सहभागी भई उहाँले प्रहरी संगठनको गरिमा थप उच्च बनाउनुभएको छ।

कोशी प्रदेश प्रहरी प्रमुखबाट बधाई

प्रहरी सहायक निरीक्षक शेर्पाको यो उल्लेखनीय उपलब्धिमा कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, “शेर्पाको सगरमाथा विजय नेपाल प्रहरीका लागि मात्र नभई सम्पूर्ण राष्ट्रका लागि गर्वको विषय हो। उहाँको साहस र समर्पण प्रेरणादायी छ।”

बेस क्याम्पमा भव्य स्वागत

सगरमाथाको शिखर आरोहणपश्चात शेर्पा जेष्ठ ६ गते आधार शिविर (बेस क्याम्प) आइपुग्नुभएको थियो। उहाँको सफल फर्काइपछि कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट इलाका प्रहरी कार्यालय नाम्चेले उहाँलाई विशेष स्वागत र सम्मान गरेको छ। नाम्चेमा आयोजित कार्यक्रममा प्रहरी अधिकारीहरू, स्थानीयवासी तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रेरणाको शिखरमा कुन्जाङ शेर्पा

नेपाल प्रहरी सेवासँगै सगरमाथा जस्तो विश्वकै सर्वोच्च र कठिन शिखरमा विजय हासिल गर्नु शेर्पाको अद्वितीय आत्मबल, दृढ इच्छाशक्ति र साहसको प्रमाण हो। साइबर सुरक्षा जस्तो प्रविधिमैत्री क्षेत्रमा कार्यरत हुँदा हुँदै पर्वतारोहणमा पनि आफूलाई साबित गर्नु उहाँको बहुआयामिक व्यक्तित्वलाई उजागर गर्छ।

उहाँको यो सफलताले प्रहरी संगठनभित्र कार्यरत महिला सदस्यहरू, युवा पुस्ता र सम्पूर्ण देशवासीलाई उच्च लक्ष्य निर्धारण गर्न र त्यसका लागि समर्पित भई अघि बढ्न प्रेरणा दिने विश्वास गरिएको छ।

प्रकाशित मिति: २०२५-०५-२१ , समय : २१:०३:१९ , २ महिना अगाडि

error: Content is protected !!