बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

राजसंस्थाका पक्षमा लिङ्देनको हुंकार: “प्रधानमन्त्री हेलिकोप्टरबाट भाग्न सक्छन्”

Aarya News Desk 3019  पटक हेरिएको

समाजिक सञ्जाल

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र दिवसकै दिनबाट राजसंस्था पुनर्स्थापनाको मागसहित निर्णायक आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। उनले प्रधानमन्त्रीलाई “हेलिकोप्टरबाट भाग्ने अवस्था आउन सक्छ” भन्दै दिएको अभिव्यक्तिलाई राजनीतिक सहिष्णुतामाथि गम्भीर हमला र संवैधानिक मूल्यहरूको अपमानको रूपमा हेरिएको छ।

राजसंस्थाको बहाली र हिन्दु राष्ट्रको पुनःस्थापनाको मागलाई लिएर पटक–पटक आन्दोलनको चेतावनी दिइएको भए पनि गणतन्त्रको जगमाथि प्रश्न उठाउने तथा हिंसात्मक संकेत दिने भाषा प्रयोग हुनुले आम जनभावनामा चिन्ता पैदा गरेको छ। राजनीतिक विश्लेषकहरूले लोकतान्त्रिक मुल्यमा आस्था राख्ने सबै पक्षले सहमतिका माध्यमबाट मात्र आफ्ना विचार प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन्।

गत चैत १५ गतेको राजसंस्थाका समर्थकहरूको प्रदर्शन हिंसात्मक बन्दै गएपछि केही समय मौन बसेको राजावादी पक्ष पूर्वराजा ज्ञानेन्द्र शाहको नगरकोट बसाइपछि पुनः सक्रिय बनेको देखिएको छ। यसैबीच, राजनीतिक स्थायित्व र समृद्धिको अपेक्षामा रहेका जनताले सडकमुखी आन्दोलन र उत्तेजक भाषणलाई अस्वीकार गर्ने जनमत बढ्दो छ।

नेपालमा गणतन्त्र एक दशक लामो जनआन्दोलन, जनबल र बलिदानको नतिजा हो। संविधान र लोकतन्त्रको रक्षाका लागि अहिलेको परिस्थिति नेपाली समाजको चेतनाको परीक्षा भएको बताउँदै धेरैले सत्तापक्ष र प्रतिपक्ष दुबैलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेका छन्।

विकास, समृद्धि र स्थायित्वको मार्गमा कुनै पनि किसिमको कट्टर सोच र इतिहासतर्फ फर्कने प्रवृत्तिले बाधा नपुर्याओस् भन्ने जनचासोबीच गणतन्त्र दिवसमा आएको यो राजनीतिक घोषणाले देशको भविष्य कता जाला भन्ने प्रश्न पनि खडा गरिदिएको छ।

प्रकाशित मिति: २०२५-०५-२१ , समय : ०८:१८:२१ , १ महिना अगाडि

error: Content is protected !!