बि.स. : २०८२ माघ २६, सोमबार

चट्याङ्ग र वर्षाका कारण जनजीवन प्रभावित, सतर्क रहन आग्रह

Aarya News Desk 5492  पटक हेरिएको

देवानगञ्ज । हाल देशका धेरै भागमा मौसम परिवर्तनको संकेत देखिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा तथा पश्चिमी वायुले मिलेर देशभरको मौसममा आंशिक प्रभाव पारेको छ।

यसको असरस्वरूप कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ भने तराई लगायत अन्य भूभागमा आकाश मुख्यतः सफा देखिएको छ।

कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। दिउँसोसम्म देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहन सक्ने अनुमान गरिएको छ। विशेषगरी पहाडी भेगका थोरै स्थानमा र अन्य कतिपय क्षेत्रमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाको भनाइ छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हल्का वर्षासँगै हिमपातको सम्भावना पनि देखिएको छ।

आज राति कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका विभिन्न ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी, बागमती र गण्डकीका हिमाली भेगमा हल्का हिमपात पनि हुनसक्ने जनाइएको छ।

महाशाखाले चट्याङ्ग र वर्षाका कारण जनजीवन, कृषि, स्वास्थ्य, यातायात र हवाइ उडानमा असर पर्नसक्ने भन्दै सतर्क रहन सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति: २०२५-०५-२१ , समय : ०७:०७:०१ , ९ महिना अगाडि

error: Content is protected !!