बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

देवानगञ्जमा सामुदायिक विद्यालय सुधारका लागि १४ बुँदे कार्ययोजना सार्वजनिक

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि महासंघको ठोस पहल, अभिभावक र समुदायलाई सक्रिय सहभागिताको आह्वान

राजीव कुशवाहा 6707  पटक हेरिएको

देवानगञ्ज। सुनसरीको देवानगञ्ज गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित ‘सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ देवानगञ्ज’ ले १४ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ। गाउँपालिकास्तरीय वार्षिक परीक्षाको नतिजा सार्वजनिक भएपछि आवश्यक मूल्यांकनको आधारमा स्थानीय विद्यालयहरूको अवस्था सुधार गर्ने दीर्घकालीन उद्देश्यसहित महासंघले यो योजना ल्याएको हो।

महासंघका अध्यक्ष कुन्दकुमार मेहताको हस्ताक्षरसहित सार्वजनिक गरिएको सूचनामा ‘विद्यालय सुधार हाम्रो अभियान’ भन्ने मूल नारालाई मूर्तरूप दिन शिक्षक, अभिभावक, विद्यार्थी र समुदाय सबैको सहकार्य अपरिहार्य रहेको उल्लेख गरिएको छ।

महासंघका अनुसार कार्ययोजना विद्यालयको पठनपाठन, भौतिक पूर्वाधार, बालमैत्री वातावरण, शिक्षकको उपस्थिति र अभिभावकको भूमिका सम्मलाई समेटेर लागू गरिनेछ। योजना अन्तर्गत सामुदायिक विद्यालयमा व्यापक सुधार ल्याउने गरी विस्तृत खाका तयार पारिएको छ।

सार्वजनिक कार्ययोजनाका प्रमुख बुँदाहरू यसप्रकार छन्:

१. गरिब तथा विपन्न विद्यार्थीहरूका लागि निःशुल्क शैक्षिक सामग्री (कापी, कलम, झोला, पोशाक आदि) उपलब्ध गराउने।

२. वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार वा सम्मान प्रदान गर्ने।

३. विद्यालयको साइनबोर्ड र विद्यालय स्तरीय लक्षितसूचक बोर्ड निर्माण गर्ने।

४. प्रत्येक विद्यालयमा लक्षितसूचकको सन्दर्भमा निगरानीको व्यवस्था गर्ने।

५. विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको सक्रियता सुनिश्चित गर्ने।

६. विद्यालयमा कार्यरत सरकारी कर्मचारी तथा जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमै भर्ना गराउने।

७. विद्यालयमा दैनिक उपस्थिति प्रणाली मजबुत बनाउने।

८. शिक्षकहरूको तालिम र दक्षताका लागि नियमित तालिमको व्यवस्था गर्ने।

९. विद्यालयको आर्थिक विवरण पारदर्शी बनाउने।

१०. विद्यालय छाडेका बालबालिकालाई पुनः विद्यालयमा फर्काउने।

११. महासंघमा नाम सिफारिस भएका प्रतिनिधिहरूलाई जिम्मेवारी दिने।

१२. शिक्षक तथा विद्यालय कर्मचारीको मूल्यांकनपछि पुनः जिम्मेवारी तोक्ने।

१३. वार्षिक मूल्याङ्कनको आधारमा उत्कृष्ट विद्यालयलाई पुरस्कार दिने।

१४. गाउँपालिकास्तरीय विद्यालय सुरक्षासंहिता लागू गर्ने।

कार्ययोजना कार्यान्वयनका लागि अभिभावक, जनप्रतिनिधि, शिक्षक, विद्यालय कर्मचारी र समुदायका सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ। साथै, सरकारी निकाय, शिक्षक अभिभावक संघ र विद्यालय व्यवस्थापन समितिबीच संयुक्त समन्वयमा योजना अगाडि बढाइने स्पष्ट गरिएको छ।

महासंघका अध्यक्ष मेहताले भने, “गुणस्तरीय शिक्षा अब हाम्रो आवश्यकता मात्र होइन, सामूहिक अभियान बन्नुपर्छ। हामी सबै मिलेर सामुदायिक विद्यालयको रूपान्तरण सम्भव बनाउँछौं।”

शिक्षा सुधारको सम्भावना

शिक्षा क्षेत्रका जानकारहरूका अनुसार यस्तो कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेमा देवानगञ्ज क्षेत्रका सामुदायिक विद्यालयमा उल्लेखनीय सुधार सम्भव हुनेछ। उनीहरूको विश्लेषणमा स्थानीय सरकार, विद्यालय प्रशासन र समुदायबीचको साझा प्रतिबद्धता र निरन्तरता नै योजनाको सफलताको मूल कुञ्जी हो।

देवानगञ्जमा यस किसिमको समन्वित र बहुआयामिक प्रयास पहिलोपटक औपचारिक रूपमा सार्वजनिक भएको हो। यसले सामुदायिक विद्यालयप्रति घट्दो विश्वासलाई पुनः स्थापित गर्न मद्दत गर्ने र बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२५-०५-२० , समय : ०७:१५:४६ , २ महिना अगाडि

error: Content is protected !!