बि.स. : २०८२ आषाढ २०, शनिबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

सीमा क्षेत्रमा कडाइ: सशस्त्र प्रहरीद्वारा ३ केजी शंकास्पद सेतो धातु बरामद

कोशी प्रदेश सम्वाददाता 2481  पटक हेरिएको

विराटनगर। भारतसँगको सिमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म रानी विराटनगरले निगरानी कडा बनाएसँगै अवैध कारोबारमा संलग्न समूहहरू निरुत्साहित बन्न थालेका छन्। सिमा सुरक्षा, तस्करी नियन्त्रण र अवैध गतिविधिमा अंकुश लगाउने उद्देश्यले सशस्त्र प्रहरीको सक्रियता बढेसँगै लगातार सफलता हात परेको छ।

गुल्म प्रमुख सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) भूपेन्द्र बस्नेतको कमाण्डमा खटिएको सुरक्षा टोलीले सोमबार दिउँसो करिब ३:४० बजे सिमा नाकामा नियमित जाँचको क्रममा चान्दी जस्तो देखिने ३ किलो ग्राम सेतो धातु बरामद गरेको हो।

प्रहरीका अनुसार भारतको जोगबनीबाट नेपालतर्फ आइरहेका एक व्यक्तिको साथमा रहेको झोलामा शंका लागेपछि जाँच गर्दा सो धातु फेला परेको हो। पक्राउ परेका व्यक्तिको पहिचान खुलाइएको छैन, तर उनीसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बरामद गरिएको उक्त धातुको शुद्धता पुष्टि गर्न नेपाल सुनचाँदी व्यवसायी महासंघ, मोरङमा परीक्षणका लागि पठाइएको छ। महासंघबाट आउने रिपोर्टपछि मात्रै धातु चाँदी हो वा अन्य केही भन्ने टुंगो लाग्ने सशस्त्र प्रहरीले जनाएको छ। परीक्षणपछि त्यसको कानुनी प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

धातु परीक्षण सम्पन्न भएपछि उक्त वस्तु आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय, रानीमा बुझाइने जानकारी पनि सशस्त्र प्रहरी स्रोतले दिएको छ।

सशस्त्र प्रहरी निरीक्षक बस्नेतले सीमावर्ती क्षेत्रहरूबाट हुने सुन, चाँदी, लागुऔषध र अन्य तस्करीजन्य वस्तुको ओसारपसार रोकथामका लागि नियमित गस्ती, चेकजाँच र निगरानी तीव्र बनाइएको जानकारी दिए।

“हामीले हरेक दिन सिमा क्षेत्रको निगरानीलाई सशक्त बनाइरहेका छौं। स्थानीयवासीको सहयोग पनि बढ्दो छ, जसका कारण यस्ता अवैध गतिविधिमाथि नियन्त्रण गर्न सहज भइरहेको छ,” निरीक्षक बस्नेतले भने।

यसअघि पनि उक्त गुल्मले विभिन्न किसिमका तस्करीजन्य सामग्रीहरू बरामद गर्दै आएको छ। सीमावर्ती क्षेत्र भएर हुने अवैध कारोबारमाथि अंकुश लगाउन सशस्त्र प्रहरीको सक्रियता अझै प्रभावकारी बन्दै गएको देखिन्छ।

सिमा क्षेत्रमा सशस्त्र प्रहरीको कडाइसँगै अब तस्करी गर्नेहरूको मनोबल कमजोर बन्ने र स्थानीय सुरक्षा व्यवस्था अझ बलियो हुँदै जाने विश्वास लिइएको छ।

प्रकाशित मिति: २०२५-०५-१९ , समय : १९:३७:१५ , २ महिना अगाडि

error: Content is protected !!