
विराटनगर। विराटनगरमा शनिबार राति भएको एक स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ स्थित नेपाल आयल निगमको कार्यालयनजिक स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख डिएसपी राजन लम्सालका अनुसार प्रदेश १–०२–०५० प ९७९६ नम्बरको स्कुटर खार्जीबाट कञ्चनबारीतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा स्कुटर चालक विराटनगर–६ निवासी अन्दाजी ५५ वर्षीय मोहमद अब्दुल कलाम गम्भीर घाइते भएका थिए।
कलामलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। प्रारम्भिक अनुसन्धान अनुसार स्कुटरको तीव्र गति नै दुर्घटनाको मुख्य कारण भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि स्कुटरलाई प्रहरी चौकी बरगाछीको नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२५-०५-१८ , समय : १४:१४:४४ , २ महिना अगाडि