
लमजुङ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलको जिल्ला अधिवेशन हिंसात्मक बनेको छ। लमजुङको बेँसीशहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा शनिबार आयोजित पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी प्रहार हुँदा चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा बेँसीशहर नगरपालिका–९ का वडाध्यक्ष एवं तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले रहेका छन्।
घाइतेमध्ये गम्भीर अवस्थामा रहेका खुसीजङ्ग गुरुङ र सुदीप अधिकारीलाई उपचारका लागि चितवनको सियमी मेडिकल कलेज, भरतपुर पठाइएको प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए।
प्रतिनिधि छनोटको विषयलाई लिएर दुई समूहबीच झडप हुँदा खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पूर्णकालीन सदस्यता तथा प्रतिनिधि छनोटका विषयमा मतभेद हुँदा अवस्था हिंसात्मक बनेको बताइएको छ।
अधिवेशनको वातावरण तनावग्रस्त भएपछि कार्यक्रमस्थलमा थप सुरक्षा बल परिचालन गरिएको छ।स्रोत: रासस
प्रकाशित मिति: २०२५-०५-१८ , समय : १०:१४:११ , २ महिना अगाडि