
गोरखा। गोरखा नगरपालिका–१०, छेपेटारमा १७औँ शताब्दीको प्राचीन मन्दिरको भग्नावशेष फेला परेको छ। पुरातत्व विभागका अधिकृत नवराज अधिकारीको नेतृत्वमा नौ दिनसम्म सञ्चालन गरिएको उत्खननबाट मन्दिरका भित्ताका गारो, ढुंगाका संरचना, थाम राख्ने आधार, तामाका दियो, सिक्का तथा अन्य धातुका सामग्री फेला परेका हुन्।
यो उत्खननको सुरुवात लट्टेश्वर महादेव मन्दिर पुनर्निर्माणको क्रममा भेटिएको भग्नावशेषपछि गरिएको हो। भग्नावशेष देखिएपछि महादेवस्थान संरक्षण तथा विकास समितिले पुरातत्व विभागलाई औपचारिक जानकारी दिएको थियो। त्यसको करिब एक वर्षपछि विभागले स्थलगत अनुगमन र वैज्ञानिक अध्ययन गर्दै उत्खनन प्रक्रिया अघि बढाएको थियो।
इतिहाससँग जोडिएको प्रमाण
“उत्खननमा फेला परेका इँटा र संरचनाको डिजाइन हेर्दा यो मन्दिर १७औँ शताब्दीको अन्त्यदेखि १८औँ शताब्दीको सुरुमा निर्माण गरिएको हुनसक्छ,” अधिकृत अधिकारीले बताए। “माटोभित्र गाडिएका सिक्का, तामाका पूजाका सामाग्री र अन्य संरचनात्मक अवशेषले प्राचीन धार्मिक क्रियाकलाप भएको पुष्टि गर्छ।”
स्थानीय इतिहास अनुसार, सो स्थलमा २०३४ सालतिर राममन्दिर बनाउने क्रममा पनि केही पुराना अवशेष देखिएका थिए। तर त्यसबेला आधुनिक ज्ञान र चेतनाको अभावमा त्यस्ता प्रमाणहरू नष्ट भए। पछिल्लो पुनर्निर्माणको तयारीमा एक्साभेटर प्रयोग गर्दा पिपलको जरासहित केही संरचनामा क्षति पुगेको पुरातत्व विभागले जनाएको छ।
पुरातात्विक संवेदनशीलता र संरचनाको संरक्षण
दक्षिण–पूर्वतर्फ रहेको राममन्दिरसमेत सम्भवतः पुरानो मन्दिरको आधारमै निर्माण गरिएको हुन सक्ने अधिकारीको भनाइ छ। “सम्पूर्ण भाग उत्खनन गरी सम्पूर्ण अध्ययनपछि मात्र संरचनाको संरक्षण योजना बनाइनेछ,” उनले स्पष्ट पारे।
हालसम्म करिब ७० प्रतिशत उत्खनन सम्पन्न भएको छ। समय र प्राविधिक स्रोतको अभावले बाँकी कार्य रोकिएको हो। विभागले आउँदो वर्ष उत्खनन कार्यलाई निरन्तरता दिने योजना बनाएको छ। हाललाई उत्खनन गरिएको स्थललाई प्लास्टिकले ढाकेर माटोले सुरक्षित गरिएको छ। विभागले स्थानीय बासिन्दालाई थप उत्खनन वा निर्माण कार्य नगर्न आग्रहसमेत गरेको छ।
“नेपालको आधार हिन्दुत्वमै अडिएको”
एक वरिष्ठ पुरातत्वविद्को अनुसार, नेपाल राष्ट्रको ऐतिहासिक र सांस्कृतिक जरा हिन्दुत्वसँग गहिरो रूपमा गाँसिएको छ। “हामी जहाँ खने पनि कुनै न कुनै देवी–देवतासँग सम्बन्धित अवशेष भेटिन्छ,” उनले भने। “धार्मिक सहिष्णुता र उदारताको कारण सरकारले विगतमा मस्जिद, मदरसा, गिर्जाघर, गुरुद्वारा आदि निर्माणका लागि जमिन दिएका छन्, तर ती स्थानको जड भने हिन्दु सभ्यता नै हो भन्ने प्रमाण भेटिन्छ।”
समाज, इतिहास र आधुनिकताको संगम
स्थानीय बासिन्दाहरू पनि उत्खननप्रति चासो देखाउँदै संरक्षणमा सहयोग गर्न तयार छन्। छेपेटारको यो मन्दिर स्थलले नेपाली समाजको सांस्कृतिक विविधता, ऐतिहासिक गहिराइ र धार्मिक सहिष्णुताको नमुना प्रस्तुत गर्ने सम्भावना बोकेको छ।
उत्खननबाट प्राप्त संरचनाले न केवल पुरानो धार्मिक स्थलको पुष्टि गर्छ, तर यसले नेपालको इतिहास, वास्तुकला र सामाजिक संरचनाको अध्ययनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास विज्ञहरूले व्यक्त गरेका छन्।
प्रकाशित मिति: २०२५-०५-१८ , समय : १०:०२:०४ , २ महिना अगाडि