बि.स. : २०८२ आषाढ २०, शनिबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

देशभर बदली मौसमको प्रभाव : वर्षा, हावाहुरी र हिमपातको सम्भावना

Aarya News Desk 2702  पटक हेरिएको

देवानगञ्ज । देशका विभिन्न भूभागमा आइतबार आकाश आंशिकदेखि पूर्ण बदली रहने र कतिपय स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

विभागका अनुसार कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रहरूमा दिउँसो मौसम धेरैजसो समय बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ। अन्य प्रदेशहरूमा पनि आंशिक बदली रहने र थोरै स्थानमा वर्षा हुनसक्ने अनुमान गरिएको छ।

उच्च पहाडी र हिमाली भेगमा मौसममा चिसोपनको असर देखिने सम्भावना छ। त्यहाँको तापक्रममा गिरावट आउनसक्ने र कतिपय स्थानमा हल्का वर्षासँगै हिमपात हुने सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।

यसैबीच, मधेस, कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा हावाहुरीको सम्भावना पनि रहेकोले जनधनको क्षति हुन नदिन सावधानी अपनाउन विभागले आग्रह गरेको छ। हावाहुरीले अस्थायी संरचना, बिजुलीका पोल, रुख र कृषि कार्यमा प्रभाव पार्नसक्ने भएकाले स्थानीय प्रशासन र नागरिकहरूलाई सतर्क रहन भनिएको छ।

मौसमविद् डेबिट ढकालका अनुसार काठमाडौँ उपत्यकामा पनि दिउँसो हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ। मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेकाले उपत्यकाबासीलाई आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीका साथ दैनिक काममा जुट्न सुझाव दिइएको छ।

विभागले मौसममा आउने यी अस्थायी तर प्रभावकारी परिवर्तनका कारण सार्वजनिक यातायात, उडान सेवा, कृषि र जनजीवनमा असर पर्नसक्ने भएकाले सबै पक्ष जिम्मेवार र सतर्क बन्न आग्रह गरेको छ।

 

प्रकाशित मिति: २०२५-०५-१८ , समय : ०७:५५:५० , २ महिना अगाडि

error: Content is protected !!