
विराटनगर। वर्तमान समयमा युवाहरूमा बढ्दो सामाजिक विकृति, मानसिक तनाव र दिशाविहीनताका कारण उत्पन्न समस्यालाई ध्यानमा राख्दै कुशवाहा राष्ट्रसेवक समाज नेपाल, विराटनगरले विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
‘मनोपरामर्श तथा जीवनवृत्ति सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ सोमबार विराटनगरस्थित जेष्ठ नागरिक सामुदायिक भवनमा सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख उद्देश्य युवाहरूलाई मानसिक स्वास्थ्य, कानुनी चेतना र भविष्य निर्माणका विषयमा सशक्त बनाउनु रहेको आयोजकले जनाएको छ।
समाजका अध्यक्ष रामखेलौन मेहताका अनुसार समाजमा देखा परिरहेको विकृति, लागूपदार्थ दुरुपयोग, आत्महत्या, सामाजिक अन्यायजस्ता समस्याको समाधानका लागि युवामैत्री कार्यक्रम सञ्चालन गरिएको हो। “युवाहरूलाई सही मार्ग निर्देशन गर्ने उद्देश्यले मनोपरामर्श र करियर गाइड गर्ने खालको यो कार्यक्रमको आयोजना गरिएको हो,” अध्यक्ष मेहताले बताए।
कार्यक्रममा कक्षा १०, +२ तथा स्नातक तहमा अध्ययनरत १ सय ४२ जना विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको थियो। उनीहरूलाई विभिन्न क्षेत्रमा दिग्गज तथा विज्ञ व्यक्तिहरूले प्रशिक्षण दिएका थिए।
प्रशिक्षण प्रदान गर्ने विज्ञहरूमा प्रोफेसर डा. रामशरण मेहता, सहायक जिल्ला न्यायधिवक्ता मोरङकी सिमा यादव, डा. उपेन्द्र मेहता र कोशी अस्पतालका जनस्वास्थ्य अधिकृत गजेन्द्र यादव रहेका थिए।
प्रो. डा. मेहताले मानसिक स्वास्थ्यका विषयमा विस्तृत जानकारी दिँदै विद्यार्थीहरूलाई आत्मविश्वास र सकारात्मक सोच विकास गर्न प्रेरित गरे। न्यायधिवक्ता सिमा यादवले कानुनी चेतना, बालअधिकार र साइबर सुरक्षाजस्ता विषयमा जानकारी दिइन्। त्यस्तै, डा. उपेन्द्र मेहताले करियरको स्पष्ट लक्ष्य निर्धारण कसरी गर्ने भन्नेमा मार्गदर्शन गरे भने कोशी अस्पतालका जनस्वास्थ्य अधिकृत गजेन्द्र यादवले व्यक्तिगत जीवनमा मानसिक सन्तुलन र स्वस्थ सोचको भूमिकाबारे मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमले युवाहरूमा जीवनप्रति सकारात्मक दृष्टिकोण, आत्मपरिचयको विकास र व्यावसायिक लक्ष्यप्रति स्पष्टता ल्याउने विश्वास आयोजकले व्यक्त गरेको छ।
उक्त अवसरमा सहभागी विद्यार्थीहरूले कार्यक्रम अत्यन्त उपयोगी, मार्गदर्शक र प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए।
कुशवाहा राष्ट्रसेवक समाज नेपालले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
प्रकाशित मिति: २०२५-०५-१२ , समय : १६:०३:२२ , २ महिना अगाडि