
देवानगञ्ज। झापा, मोरङ, सुनसरी र भोजपुरका विभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले वैशाख २८ गते देशका पूर्वी जिल्ला लक्षित गर्दै व्यापक अभियान चलाएको थियो।
झापाको बुद्धशान्ती गाउँपालिका–३ स्थित बुधबारे बजारबाट इलाका प्रहरी कार्यालय बुधबारेको टोलीले ३३ वर्षीय उत्तम कार्कीलाई ३ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो। यस्तै, अस्थायी प्रहरी पोष्ट बसपार्क झापाले रुपन्देही बुटवल नगरपालिका–३ की २५ वर्षीया निर्मला थापालाई ५ सय २० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको जनाएको छ।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले पनि विराटनगर महानगरपालिका–१५ र १६ का विभिन्न स्थानबाट धरान उप–महानगरपालिका–१२ का २९ वर्षीय बसन्त तामाङलाई २ ग्राम ८८ मिलिग्राम र मोरङ सुन्दरहरैचा नगरपालिका–३ का २० वर्षीय दिवश तामाङलाई १ ग्राम ७१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
यसैगरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगरले सुनसरीको बराहक्षेत्र नगरपालिका–७ सोमबारेस्थित २५ वर्षीय धिरज राईलाई २ ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय भोजपुरको टोलीले गोप्य सूचनाका आधारमा भोजपुर नगरपालिका–७ स्थित २४ वर्षीय संजय राईको कोठाबाट ३ ग्राम ४ सय ७० मिलिग्राम ब्राउन सुगर, १८ ग्राम गाँजा र नगद ७० हजार रुपैयाँ बरामद गरेको छ। उक्त कारवाहीमा संलग्न भोजपुरका १९ वर्षीय मौसम राई, २० वर्षीय रेन्जि शेर्पा, संगित राई, युकेश राई, १९ वर्षीय उचित राई तथा २९ वर्षीय दिपेश राईलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबै व्यक्तिहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२५-०५-१२ , समय : १४:१९:४२ , २ महिना अगाडि