
देवानगञ्ज। देशमा पश्चिमी वायु, स्थानीय वायु तथा अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको मौसमविद्हरूले बताएका छन्। यसको प्रभावस्वरूप देशका विभिन्न पहाडी तथा हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू-भागमा मुख्यतः सफा वा आंशिक बदली रहनेछ। पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ भने हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा पनि कोशी प्रदेशलगायतका पहाडी क्षेत्रमा आंशिक बदली रहने र एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा र अन्य केही स्थानहरूमा समेत मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता र तयारी अपनाउन आम नागरिकलाई अनुरोध गरेको छ।
प्रकाशित मिति: २०२५-०५-१२ , समय : ०७:०८:१२ , २ महिना अगाडि