बि.स. : २०८२ माघ २६, सोमबार

पश्चिमी र स्थानीय वायुको प्रभाव : देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

Aarya News Desk 4284  पटक हेरिएको

देवानगञ्ज। देशमा पश्चिमी वायु, स्थानीय वायु तथा अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको मौसमविद्हरूले बताएका छन्। यसको प्रभावस्वरूप देशका विभिन्न पहाडी तथा हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू-भागमा मुख्यतः सफा वा आंशिक बदली रहनेछ। पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ भने हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा पनि कोशी प्रदेशलगायतका पहाडी क्षेत्रमा आंशिक बदली रहने र एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा र अन्य केही स्थानहरूमा समेत मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता र तयारी अपनाउन आम नागरिकलाई अनुरोध गरेको छ।

प्रकाशित मिति: २०२५-०५-१२ , समय : ०७:०८:१२ , ९ महिना अगाडि

error: Content is protected !!