बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

देवानगञ्जमा ट्रान्सफर्मर चोरी, विद्युतीकरण र सिँचाइमा गम्भीर असर

राजीव कुशवाहा 7538  पटक हेरिएको

देवानगञ्ज। सुनसरीको देवानगञ्जमा ट्रान्सफर्मर चोरी भएको छ। देवानगञ्ज गाउँपालिका वडा नम्बर १ मा कृषि सिँचाइको लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको हो ।

बुधबार राती डिप टूवेल (बोर्डिङ) मा स्थापना गरिएको उक्त ट्रान्सफर्मर अज्ञात समूहले चोरी गरेको पुष्टि भएको छ। घटनाले स्थानीय किसानहरूमा चिन्ता र आक्रोश पैदा गरेको छ।

देवानगञ्ज गाउँपालिका वडा नम्बर २ का अध्यक्ष जगनारायण मेहताका अनुसार, आफू राति करिब ९ बजेसम्म उखुबारीमा पानी हालेर घर फर्किएका थिए। तर बिहान खेत पुग्दा ट्रान्सफर्मर गायब रहेको देखिएको थियो। उक्त ट्रान्सफर्मर सिँचाइका लागि अत्यावश्यक थियो, जसबाट करिब ४० विघा क्षेत्रफलमा पानी पुर्‍याइँदै आएको थियो।

सगुन जल उपभोक्ता समितिका अध्यक्ष विनोद मेहताले ट्रान्सफर्मर चोरीले स्थानीय कृषकहरूका लागि ठूलो धक्का पुर्‍याएको बताए। “साना किसानदेखि ठूला कृषकहरूसम्म यो सिँचाइ प्रणालीबाट लाभान्वित हुँदै आएका थिए। अहिलेको यो घटनाले उनीहरूको कृषि कार्यमा प्रत्यक्ष असर पारेको छ,” उनले भने।

घटनाप्रति देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले कडा प्रतिक्रिया जनाएका छन्। उनले चोरीको निन्दा गर्दै सीमावर्ती क्षेत्रका तस्करहरूलाई दोषी ठहर गरे। अध्यक्ष मेहताले भने, “किसानहरूलाई लाभ पुर्‍याउने काममा अवरोध गर्ने तस्करहरूलाई गोली हान्नुपर्ने अवस्था आएको छ। यदि तत्कालै कडा कदम चालिएन भने यो प्रवृत्तिले सम्पूर्ण विद्युतीकरण योजनामा खतरा उत्पन्न गर्छ।”

उनका अनुसार देवानगञ्ज गाउँपालिकामा हालसम्म करिब १ सय ट्रान्सफर्मर जडान गर्ने कार्य सुरु भइसकेको छ। तर यस प्रकारको चोरी घटनाले सम्पूर्ण अभियानलाई जोखिममा पारेको छ।

विद्युतीकरण अभियानमा चुनौती
देवानगञ्ज गाउँपालिकाले ७ वटै वडाहरूमा “खुसी किसान देवानगञ्जको पहिचान” नारा सहित विद्धुती पोल गाडी सकेको छ। तार तान्ने कार्य अन्तिम चरणमा छ। पालिकाले हालसम्म करिब १ सय ट्रान्सफर्मर जडान गर्ने योजना अघि बढाइएको छ। जडान गर्ने कार्य सुरु भइसकेको छ। गाउँपालिकाका विभिन्न स्थानमा सिँचाइ, घरेलु प्रयोजन र उद्योगका लागि ट्रान्सफर्मर जडान गरिँदैछ।

तर यो चोरीको घटनाले अभियानको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। ट्रान्सफर्मर चोरी भएको स्थान प्रहरी चौकीदेखि करिब ४ देखि ५ सय मिटर माथि रहेको बताइएको छ। यति नजिकैबाट ट्रान्सफर्मर चोरी हुनुले सुरक्षाको प्रभावकारिता र प्रहरीको सक्रियता माथि समेत शंका उठाएको छ।

कृषकहरू आक्रोशित, राहतको पर्खाइमा
यस चोरी घटनाले देवानगञ्ज क्षेत्रका सयौँ किसानहरूको बाली सिँचाइमा असर पार्ने निश्चित देखिन्छ। समयमै सिँचाइ नपाए बाली सुक्ने खतरा रहेकोले किसानहरूले स्थानीय सरकारसँग तत्काल समाधानको माग गरेका छन्।
यस प्रकारको चोरीको दोहोरिन नदिन गाउँपालिका, सुरक्षा निकाय र स्थानीयवासी बीच समन्वय गरि सतर्कता अपनाउने समय आएको देखिन्छ।

प्रकाशित मिति: २०२५-०५-०८ , समय : ११:१३:५४ , २ महिना अगाडि

error: Content is protected !!