
देवानगञ्ज । शिक्षा क्षेत्रको सुदृढीकरण र विद्यार्थीहरूको शैक्षिक पहुँचलाई सहज बनाउन देवानगञ्ज गाउँपालिकाले श्री अमर सिंह माध्यमिक विद्यालय, देवानगञ्ज गाउँपालिका वडा नम्बर ५ लाई विद्यालय बस हस्तान्तरण गरेको छ।
सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले ५१ सिट क्षमता भएको नयाँ बस विद्यालयलाई हस्तान्तरण गरेको हो।
कार्यक्रममा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले प्रमुख अतिथिको रूपमा सहभागी हुँदै बस हस्तान्तरण गरे। उनले विद्यालयलाई बस दिनु गाउँपालिकाको शिक्षा प्रतिको प्रतिबद्धताको एक उदाहरण भएको बताए। “शिक्षकहरूको आन्दोलनका कारण यो बस हस्तान्तरण गर्न केही ढिला भएको हो,” अध्यक्ष मेहताले भने, “अब टाढाटाढाबाट विद्यालय आउनुपर्ने विद्यार्थीहरूका लागि ठूलो सहजता हुनेछ। हामी निकट भविष्यमा थप बसको व्यवस्थापन गर्ने योजना बनाइरहेका छौं।”
अध्यक्ष मेहताले शिक्षामा पहुँच मात्र होइन, गुणस्तरमा पनि सुधार आवश्यक रहेको उल्लेख गर्दै विद्यालय, शिक्षक र अभिभावकबीच समन्वयमा शिक्षा प्रणाली अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा देवानगञ्ज गाउँपालिकाकी उपाध्यक्ष कुमारी विभा यादवले बस प्राप्त भएपछि विद्यालयले यसको उचित उपयोग गर्नु पर्नेमा जोड दिइन्। “बस पाउनु एक अवसर हो, विद्यालयले यसलाई केवल विद्यार्थी चढाउने साधनको रूपमा नभई गुणस्तर शिक्षाको लागि प्रेरणाको रूपमा लिनुपर्छ,” उनले भनिन्। उपाध्यक्ष यादवले विद्यार्थीहरूको नियमित उपस्थितिलाई बसले सहज बनाउने भए पनि शिक्षक र विद्यालय प्रशासनले शिक्षण सिकाइको गुणस्तरमा ध्यान दिन आवश्यक रहेको धारणा व्यक्त गरिन्।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक प्रतिनिधि, विद्यार्थी तथा स्थानीयबासीको उपस्थिति रहेको थियो। विद्यालयका प्रधानाध्यापकले गाउँपालिकाको यो पहलप्रति आभार व्यक्त गर्दै बसको पूर्ण सदुपयोग गर्ने प्रतिबद्धता जनाए।
यस बसको सञ्चालनपछि विशेष गरी ग्रामीण भेगका टाढा टाढाबाट विद्यालय आउनुपर्ने विद्यार्थीहरूलाई राहत मिल्ने विश्वास गरिएको छ। साथै, यो पहलले अन्य विद्यालयहरूलाई पनि प्रोत्साहन दिने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २०२५-०५-०६ , समय : १३:५३:३० , २ महिना अगाडि