बि.स. : २०८२ चैत्र २७, शनिबार

नेता शेखर कोइरालाले ज्ञानेन्द्र शाहलाई राजा भने

Aarya News Desk 6251  पटक हेरिएको

विराटनगर। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूले राजा भन्ने गरेको खुलासा गरेका छन् । अन्तर्राष्ट्रिय प्रचलन अनुसार पूर्वराजा शाहलाई आफूले राजा भन्ने गरेको उनले प्रष्टयाएका छन् ।

झापाको बिर्तामोडमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा कोइरालाले अन्तर्राष्ट्रिय प्रचलनमा एक पटक पदमा पुगेको व्यक्तिलाई ‘पूर्व’ भन्ने नगरिएको ज्ञान दिएका छन् । उनले भने,‘ ‘हामी चाहिँ पूर्व भन्छौँ, तर अमेरिका जानुभयो भने अघिल्ला राष्ट्रपतिहरूलाई पनि ‘मिस्टर प्रेसिडेन्ट’ भन्ने गरिएको छ ।’ अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टर नेपाल आएका बेला पनि ‘मिस्टर प्रेसिडन्ट’ भनिएको उनले बताए । आफूले पूर्वराजा शाहलाई ‘राजा’ भन्दा अन्य अर्थ नलगाइदिन उनले आग्रह पनि गरे । कोइरालाले भने, ‘नेपालमा अन्य अर्थ लगाइदिने चलन छ । तपाईंहरूले अन्यथा नसोचिदिन आग्रह गर्दछु ।’

उनले राजा फर्काउनु पर्छ भन्ने मत संसारको जुनसुकै देशमा हुने गरेको बताए । उनले भने,‘राजाको शासन सकिएको सयौँ बर्ष बितिसक्दा पनि ती देशहरूमा राजा ल्याउनुपर्छ भन्ने मत आज पनि छ ।’ उनले फ्रान्सको एउटा चिया पसलको उदाहरण दिँदै त्यहाँ पनि राजा फर्काउनु पर्छ भन्ने मत अहिले पनि रहेको बताए । कोइरालाले भने, ‘त्यहाँ अहिले पनि राजा फर्काउनु पर्छ भन्ने मत सुनिन्छ, तर संभव भएको छैन ।’

उनले राजाका गतिविधिको विरोध भन्दा जनतालाई कतिको खुशी बनाउन सकिएको छ त्यो महत्वपूर्ण भएको बताए । राजाको विरोध गर्दा लोकतन्त्रवादी नहुने उनको भनाइ थियो । उनले भने, ‘ जनतालाई कतिको सेवासुविधा दिएर खुशी पारेका छौँ, त्यो महत्वपूर्ण कुरा हो ।’ राजा फर्काउने मुद्दा बोकेर हिँडिरहेका पार्टी वा समूहबारे कांग्रेस नेता कोइरालाले उनीहरूले कोशिश गरेका तर संभव नहुने उनको बुझाइ छ । सरकारले राम्रा काम गरेर जनतालाई सन्तुष्ट बनाउनुपर्ने उनले बताए । उनले भने, ‘राजावादीहरूको कुरालाई प्रतिवाद गरेर होइन जनतामुखी काम गरेर मन जित्नुपर्छ ।’

पूर्वराजा तथा राजावादीहरूको गतिविधि नियन्त्रण गर्ने भन्ने विषय आफूले सुनेको तर उनीहरूका गतिविधिहरूलाई प्रतिवाद गरे त्यो मुर्खता हुने उनले बताए । उनले भने, ‘उनीहरूका गतिविधिलाई ‘इग्नोर’ गर्दै जनताका लागि राम्रा काम गर्नुपर्छ । ’गएको चुनावमा गठबन्धन बनाएकाले सबभन्दा बढी घाटा कांग्रेसले ब्यहोरिरहेको उनले बताए । २०८२ सालको चैतभित्र पार्टीको महाधिवेशन गर्नैपर्ने नेता कोइरालाको अडान छ । २०८४ मा हुने आमनिर्वाचन भन्दा पछि महाधिवेशन गर्ने तर्क स्वीकार्य नहुने उनले चेतावनी दिए ।

The Nepalese

प्रकाशित मिति: २०२५-०३-०८ , समय : २२:१०:१६ , १ वर्ष अगाडि

error: Content is protected !!