बि.स. : २०८२ चैत्र २८, आइतबार

रुपन्देहीमा दर्ता हुन सकेन रविको मुद्दा, सक्कल फाइल आउन ढिलाई

Aarya News Desk 4442  पटक हेरिएको

देवानगञ्ज । रूपन्देही जिल्ला अदालतमा दर्ता भएको मुद्दाको सक्कल फाइल आउन ढिलाइ भएपछि शुक्रबार हुने भनिएको सुप्रिम सहकारी संस्थाको रकम अपचलनसम्बन्धी पूरक मुद्दा दर्ता हुन सकेन।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडिआइजी छविलाल जोशी सहितका १४ जनाविरूद्ध शुक्रबार जिल्ला अदालतमा पूरक मुद्दा दर्ता गर्ने जिल्ला सरकारी वकिलको कार्यालयले तयारी गरेको थियो। तर सर्वोच्च अदालतमा पठाइएको सक्कल फाइल आउन ढिलाइ भएपछि पूरक मुद्दा दर्तामा ढिलाइ भएको सरकारी वकिलको कार्यालयले जनाएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले पूरक अभियोजन फाइल तयार गरे पनि अदालतमा पुरानो सक्कल फाइल आउन ढिलाइ भएपछि आज दर्ता हुने भनिएको पूरक मुद्दा आइतबार दर्ता हुन सक्ने जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए।

जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले सुरू मुद्दामा २०८१ वैशाख ३ गते २८ जनालाई सहकारी ठगीसम्बन्धी मात्र कसुर लगाई १ अर्ब ३ करोड मात्र बिगो माग गरेको थियो। त्यसमध्ये १७ जनालाई सहकारी ठगी र संगठित अपराधको कसुर र बिगो थप सहितको मुद्दा दर्ताको लागि बिहीबार अदालतमा पेस गरेको थियो भने लामिछाने र जोशी सहितका थप १४ जनाविरूद्ध शुक्रबार पूरक मुद्दा दर्ता गर्ने तयारी थियो।

यसअघि इलाका प्रहरी कार्यालय बुटवलले गत पुस २६ गते नै लामिछाने सहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बुझाएको थियो।

प्रकाशित मिति: २०२५-०१-१७ , समय : १८:५४:३३ , १ वर्ष अगाडि

error: Content is protected !!