जलेश्वर। छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा आइतबार दिनभरि नै सदरमुकाम जलेश्वरमा विद्यार्थी आन्दोलित भएका छन्। जलेश्वर नगरपालिका–२ स्थित लक्ष्मी चण्डी मुरारका माध्यामिक विद्यालयका प्रधानाध्यापक सञ्जीव झाले सोही विद्यालयमा अध्ययनरत एक छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू सडकमा टायर बालेर आन्दोलित भएका हुन्।
शुक्रबार प्रधानाध्यापक झाले आफ्नो कक्षासँगै अन्य कक्षामा समेत आफूमाथि दुर्व्यवहार गरेको छात्राहरूले बताएपछि आइतबार विद्यालय सुरु हुनसाथ विद्यार्थी आन्दोलित भएका हुन्। आन्दोलित विद्यार्थीले प्रधानाध्यापक झामाथि कारबाही हुनुपर्ने माग राखेका छन्।
आरोपित प्रधानाध्यापकको विरोधमा विद्यार्थी सडकमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालयले घटनाको सम्बन्धमा सुक्ष्म रुपमा अध्ययन गरिरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए। प्रहरीले आन्दोलन उत्रिएपछि आतंकित गतिविधि गर्ने केही विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी कवारीले बताए।
उनले भने, ‘घटनाको सूक्ष्म रुपमा अनुसन्धानका हुन्छ। जसका लागि सोमबार जिल्ला प्रशासन कार्यालयमा सर्बपक्षीय बैठक बोलाइएको छ। घटनामा दोषी देखिए प्रधानाध्यापकलाई कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइनेछ।’
यता विद्यार्थी आन्दोलनमा उत्रिएपछि प्रधानाध्यापक झालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल प्रसाद जयसवारले जानकारी दिए। विद्यार्थीलाई सम्झाई बुझाई आइतबार आन्दोलन रोक्न सफल भएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी जयसवारले बताए।
✍Annapurna Post
प्रकाशित मिति: २०२४-१२-२९ , समय : २०:१०:२२ , १ वर्ष अगाडि