बि.स. : २०८२ चैत्र २८, आइतबार

एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापना गर्न लाग्नु पर्छ–महासचिव पोखरेल

मनोज दहाल/ रासस 4562  पटक हेरिएको

विराटनगर। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापना गर्न हामीसबै लाग्नु पर्ने बताउनु भएको छ ।
नेकपा एमाले मोरङ जिल्ला कमिटीद्वारा आज मोरङको ग्रामथान गाउँपालिकामा आयोजित कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
महासचिव पोखरेलले आगामी मिशन ८४ को निर्वाचनमा पार्टीलाई अत्याधिक वहुमतका साथ विजयी बनाउन आजदेखि कार्यकर्ताहरु संगठित भएर लाग्नु पर्ने आवश्यक्ता औंल्याउनु भयो ।
महासचिव पोखरेलले एमालेको नीतिलाई राष्ट्रको नीति वनाउन आगामी निर्वाचनमा विजयी बनाउन सकेमात्र मुलुकमा विकासको गतिले तिव्रता लिने दावी गर्नुभयो ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा आगाडि आएका नेताहरुको कर्महरु वाहिर छताछुल्ल भएको छ भन्दै अव जनताले पुराना पार्टीमा विकल्प खोज्न थालेको बताउनु भयो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेको लोकप्रियताको कारण विगतको उपनिर्वाचनमा पार्टीका उम्मेदवारले पूर्वको इलाम र पश्चिममा विजयी भएको बताउनु भयो ।
उहाँले वर्तमान सङ्घीय लोकतन्त्र शासन व्यवस्थाको विकल्प नभएकोले यसलाई संस्थागत गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले यही शासन व्यवस्थाले फटाई र कानुन विरोधी कार्य गर्ने सङ्घीय सासंद, प्रदेश सभा सदस्य र पूर्व ठुला पदाधिकारीहरुलाई कानुन अनुसार कारवाही गरेको चर्चा गर्नु भयो ।
एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पार्टीले तय गरेको राष्ट्रिय लक्ष्य र सङ्कल्पलाई केन्द्र विन्द्मा राखि सिङ्गो पार्टी शक्तिलाई परिचालन गर्नुपर्नेमा जोड दिनु भएका छन् ।
एमाले मोरङ इन्चार्ज जीवन घिमिरे,मोरङ अध्यक्ष बाबुराम कार्कीले मिशन ८४ लाई सफल बनाउनु कार्यकर्ताहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो
सोही अवसरमा आगामी मङ्सीर १६ गते हुने ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको निर्वाचनमा नेकपा एमालेका तर्फवाट अध्यक्षका उम्मेदवार तुलसीराम विश्वासलाई घोषणा गरिएको थियो ।

प्रकाशित मिति: २०२४-११-१२ , समय : २२:१०:४३ , १ वर्ष अगाडि

error: Content is protected !!