बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

नेपालमा हैजा सङ्क्रमण तिब्ररुपमा बढ्दै ! १० जनामा पुष्टि

Aarya News Desk 12080  पटक हेरिएको

काठमाडौं। नेपालमा हैजा सङ्क्रमण तिब्ररुपमा बढ्दै गएको छ। देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले जनाएको छ। ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

उहाँले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । ‘हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ डा घिमिरेले बताउनुभयो। ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो। ढलबाट मिसिएको हुनसक्छ। शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्छ। हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ।’

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो। ‘हैजाका जीवाणु सङ्क्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ। सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना बढी रहन्छ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउनुभयो ।’

हैजा सङ्क्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षणहरु देखा पर्छन्। हैजा सङ्क्रमण भयो र उपचार पाएन भने केही घण्टामै सङ्क्रमितको मृत्यु पनि हुनसक्ने विज्ञ बताउँछन्। डा. पुनका अनुसार यसका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ। कडा लक्षण देखिएमा आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुनु, तिर्खा लाग्नु, छाला सुक्खा हुनु, रक्तचाप कम हुन, पिसाब पहेँलो हुनु र पिसाबको मात्रा कम हुने हुन्छ।

डा पुनले मुख्यतः तीन वटा कुरामा ध्यान दिन सके हैजालाई नियन्त्रणमा राख्न सकिने बताउँछन्। पहिलो सुरक्षित पानी, व्यक्तिगत सरसफाइ र अर्को अनुगमन। उनले सबैभन्दा महत्वपूर्ण पाटो सफा र स्वच्छ पानी सेवन गर्नुपर्ने बताउँछन्। ‘हैजा दुषित पानीबाट एकदमै सहज र सरल तरिकाले फैलिने गर्दछ। धाराको पानी मान्छेले उमालेर वा फिल्टर गरेर खान्छन् तर जारको पानी धेरैले त्यसो गर्दैनन्,’ उनले भने, ‘किनेको पानी पिउनयोग्य नै छ भनेर सिधै खाइन्छ। विद्यालयदेखि लिएर कार्यालयदेखि लिएर सार्वजनिक स्थलमा जारको पानी राख्ने चलन छ। कतिपय व्यवसायीहरुले प्रशोधित नै नगरेका पानी बजारमा पठाउँदा रहेछन् । जसले गर्दा हैजाको संक्रमण फैलिन्छ।’

प्रकाशित मिति: २०२४-०७-२७ , समय : २०:५६:०४ , ११ महिना अगाडि

error: Content is protected !!