बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

प्रधानमन्त्रीओलीले संसदमा विश्वासको मतका लागि प्रस्ताव पेश गरे

Aarya News Desk 8782  पटक हेरिएको

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन्। असार ३० गते प्रधानमन्त्री नियुक्त भएका नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेका हुन्।

उक्त प्रस्तावमाथि छलफलका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले उपधारा (४) बमोजिम आज विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रचण्डले संसदबाट विश्वासको मत नपाएपछि नेपाली कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बनेका हुन्।

दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोही प्रावधानअनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेका हुन्।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ मत आवश्यक पर्दछ ।

ओली नेतृत्वको सरकारमा कांग्रेस एमालेसहित,अशोक राई नेतृत्वको जसपा र लोसपा सहभागी छन् । सरकारमा सहभागी कांग्रेसको ८८,एमालेको ७७, जसपाको ७ र लोसपाको ४ गरेर १७६ सांसद छन्। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र जनमत पार्टीले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरेका छन्। जसपाको ५ र जनमत पार्टीको ६ सांसद छन्।

नेकपा मा‌ओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमोर्चाले विश्वासको मतको विपक्षमा उभिने निर्णय गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन (ह्विप) जारी गरेको छ । पार्टीले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलदेखि स्वतन्त्र सांसदहरूलाई पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेको छ ।

प्रकाशित मिति: २०२४-०७-२१ , समय : १४:५८:५१ , १२ महिना अगाडि

error: Content is protected !!