बि.स. : २०८२ माघ २६, सोमबार

राष्ट्रिय जनावर गाईको चित्रअंकित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु

आर्य न्युज /Aarya News 6067  पटक हेरिएको

देवानगञ्ज । नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना उपकरण मर्मत गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ।

महाशाखाले आइतबारदेखि राष्ट्रिय जनावर गाईको चित्रअंकित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु गरेको छ। महाशाखाको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन्।

महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का बिक्री सुरु गरेको हो। १० ग्राम सिक्काको रु एक हजार छ सय र २५ ग्राम सिक्काको रु चार हजार निर्धारण गरिएको छ।

बैंकसँग मौज्दात रहेको चाँदीलाई लगाएर मेडालियन सिक्का टकमरी गरिएको टक्सार महाशाखाले जनाएको छ। दुवै सिक्कामा नौ सय ९९ टचको चाँदी प्रयोग गरिएको छ। दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ।

सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ। बैंक सञ्चालक समितिको गत जेठ १९ गते बसेको बैठकले दस ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो।

प्रकाशित मिति: २०२३-०९-२४ , समय : २०:२९:३२ , २ वर्ष अगाडि

error: Content is protected !!