बि.स. : २०८२ माघ २६, सोमबार

हैजाको प्रकोपमा परी नाइजेरियामा कम्तीमा २० जनाको ज्यान गए

Aarya News Desk 2292  पटक हेरिएको

अबुजा। नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हैजाको प्रकोपमा परी नाइजेरियामा कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ ।

नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा बढी मात्रामा हैजाको प्रकोप बढेको देखिएको छ। स्थानीय अबि क्षेत्रमा के कारणले प्रकोप फैलियो भन्ने विषयमा सरकारले अनुसन्धान थालेको बताइएको छ ।

१० गाउँमा हैजा फैलिएकोपछि सयौँ मानिस बिरामी भइ अस्पताल भर्ना भएका छन् । उनीहरूलाई हैजाको प्रकोपको आशङ्कापछि विशेषज्ञ चिकित्सकद्वारा उपचार सेवा गरिरहेका यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

सरकारले ती क्षेत्रमा सफा पानीको प्रबन्ध र सरसफाईका कामलाई अघि बढाएको जनाएको छ । साथै गाउँलेहरूलाई सरसफाईसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको बताइएको छ ।
नाइजेरियामा घना बस्तीहरूमा खानेपानी, सरसफाई तथा अन्य आवश्यक स्वास्थ्य पूर्वाधारको अभावमा हैजाको प्रकोप बारम्बार फैलिने गरेको छ । – रासस

प्रकाशित मिति: २०२२-१२-१९ , समय : १३:२९:१५ , ३ वर्ष अगाडि

error: Content is protected !!