बि.स. : २०८२ माघ २७, मंगलबार

मेयर हर्कराज राईले नवनिर्वाचित सांसदलाई धरानको विकासमा पहल गर्न अनुरोध गरे

Aarya News Desk 2335  पटक हेरिएको

सुनसरी। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले नवनिर्वाचित सांसदलाई धरानको विकासमा पहल गर्न अनुरोध गरेका छन्। सोमबार बिहान सुनसरी-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित जनता समाजवादीका अशोक राई र प्रदेश सभातर्फका एमालेका विजय राई र रमेश बस्नेतलाई बधाई दिँदै विकासका लागि पहल गर्न अनुरोध गरेका हुन्।

मेयर साम्पाङले आफ्ना योजनाहरुलाई पूरा गर्न पहल गर्न आग्रह गरे। ‘बधाई छ वहाँहरुलाई ! जनताले चुन्न जानेनन् भन्दिन म चाहिँ !’ निर्वाचित सांसदको तस्बिर राख्दै मेयर साम्पाङले भने, ‘अब धरानको विकासमा पहल गर्नु ! मेरा योजनाहरुलाई पूरा गर्न पहल गर्नु ! जय धरान ! जय नेपाल !’

सुनसरी क्षेत्र नम्बर-१ मा जसपा-एमालेको गठबन्धनबाट उम्मेदवार बनेका राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई झिनो मतान्तरले पराजित गरेका हुन्। निर्वाचित राईले १७ हजार ५९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन्।

सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मुक्‍सामहाङ्ग सुब्‍बाले १३ हजार ८७ मत ल्याएर तेस्रो भएका हुन्।u

प्रकाशित मिति: २०२२-११-२८ , समय : ११:४९:३१ , ३ वर्ष अगाडि

error: Content is protected !!